दफा २६
गुठी अधीनस्थ जग्गाको बन्दोबस्त
(१) यो ऐन प्रारम्भ भएपछि काठमाडौं उपत्यका र पहाड इलाकामा जोताहाले दर्तावालालाई कूत बुझाई दर्तावाला मोहीले राजगुठीलाई पूरै जिन्सी वा आँशिक जिन्सी र आँशिक गुठीको भाउले नगदीमा बुझाउनु पर्ने गुठी अधीनस्थ जग्गामा दर्तावालाको सबै हक अधिकार समाप्त भई त्यस्तो जग्गामा संस्थानको पूर्ण स्वामित्व कायम हुनेछ र त्यस्तो जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ ।
(२) उपदफा (१) बमोजिम हक समाप्त हुने दर्तावाला मोहीले निजको साबिक जग्गामा प्रचलित कानुन बमोजिम लाग्ने मालपोतको दश गुणाले हुने रकम क्षतिपूर्तिवापत तोकिएबमोजिम पाउनेछ । त्यसरी क्षतिपूर्ति पाउने दर्तावालाले गुठीलाई तिर्नुपर्ने बक्यौता रकम भए सो कट्टा गरी क्षर्तिपूर्तिको रकम पाउनेछ ।
(३) उपदफा (२) बमोजिम दर्तावाला मोहीलाई दिइने क्षतिपूर्तिको रकम दर्तावालाको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताहा किसानले संस्थानमा तोकिएबमोजिम बुझाउनुपर्नेछ ।
(३क) दर्तावाला मोहीले संस्थानमा बुझाउनु पर्ने कूत नबुझाई बक्यौता रहन गएको देखिएमा जोताहा किसानले त्यस्तो बक्यौता रहेको अवधिको कूत दर्तावाला मोहीलाई बुझाएको निस्सा संस्थानमा पेश गर्नु पर्नेछ ।
(३ख) उपदफा (३क) बमोजिम कूत बुझाएको निस्सा पेश गर्न नसकेमा निस्सा पेश गर्न नसके जतिको कूत संस्थानमा बुझाउनु पर्नेछ ।
(४) दर्तावाला मोहीको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताहा किसानले उपदफा (३) मा तोकिए बमोजिमको क्षतिपूर्तिको रकम दाखिल नगरेमा वा उपदफा (३ख) बमोजिम बक्यौता कूत तोकिएबमोजिम नतिरेमा सो जग्गाको कूत नतिरे सरह कारवाई गरी सो जग्गामा तोकिएको दस्तूर लिई अर्को मोही कायम गर्न सकिनेछ ।
(५) उपदफा (४) बमोजिम कारवाई गरी अर्को मोही कायम हुन आएमा त्यस्तो मोहीले उपदफा (३) बमोजिम हक समाप्त भएको दर्तावाला मोहीलाई तिर्नुपर्ने क्षतिपूर्तिको बाँकी रकम र उपदफा (३ख) बमोजिमको कूत समेत संस्थानमा तोकिएबमोजिम बुझाउनु पर्नेछ ।
(६).    ……………
(७) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि कुनैगुठी अधीनस्थ जग्गामा कसैले कानुनबमोजिम अधिकार पाई घर–बारी बनाई बसोबास गरी आएको भए प्रचलित नेपाल कानुनबमोजिम घर–बारी वापत राख्न पाउने जग्गाको हदसम्म जग्गा सोही व्यक्तिको नाममा मोहियानीमा दर्ता हुनेछ ।